नेकपा (एमाले) ले भर्खरै सम्पन्न आन्दोलनका क्रममा आफ्नो केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा क्षति पुगेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले देशभरका नेता तथा कार्यकर्ताका १५८ भन्दा बढी घर र व्यवसायमा समेत तोडफोड भएको विवरण सार्वजनिक गरेको हो।
महासचिव पोखरेलले भने, “प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ। यसबाहेक, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ।”
एमालेका ६० भन्दा बढी जिल्लामा रहेका आफ्नै भवनहरूमध्ये अधिकांशमा तोडफोड र आगजनी भएको उनले जानकारी दिए।
पोखरेलले थपे, “अधिकांश कार्यालयहरूको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ। आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका छन्।”
उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी र आन्दोलनको रक्षाका लागि सम्पूर्ण पार्टी पंक्ति फेरि एकजुट भएर उठेको पनि बताए।