– धनराज आचार्य
नेपालको पहिलो अर्बान प्लानिङ र पहिलो ल्याण्ड पुलिङ (पोखरा सभागृहचोकदेखि चिप्लेढुङ्गासम्मको न्युरोडको परिकल्पना) गर्ने, पोखराको समग्र ल्यान्ड–युज प्लान तयार गर्ने सम्भवतः सबैभन्दा पुराना सरकारी कार्यालयमध्ये एक—करिब ५४ वर्ष पुरानो पोखरा उपत्यका नगर विकास समिति को कार्यालय अन्ततः ढल्यो।
कच्चा इटा र माटो प्रयोग गरी डेढ फिटभन्दा ठूलो गार्हो लगाएर बनाइएको यो सानो अफिस शहीदचोकमा उभिएर पोखराको सम्पूर्ण इतिहास बोकेर सबैलाई स्वागत गर्दै आएको थियो। महत्वपूर्ण निर्णय र अभिलेखहरूको संरक्षण गर्दै आफैंमा एउटा “इतिहास” बनेको यो भवन आज यस्तो रुपमा परिणत भएको छ।
ढाल्न आउने धेरैलाई सायद थाहा नै थिएन कि यो यति महत्त्वपूर्ण अभिलेखसहितको कार्यालय हो भनेर। उनीहरूको दृष्टिमा यो सामान्य एक थान सरकारी संरचना मात्रै थियो होला।
तर जसले यसलाई निसाना बनाए र आगजनी गराए वा गराउने वातावरण बनाए उनिहरुलाई भने राम्रैसँग थाहा थियो—यो कार्यालय ध्वस्त भएपछि मापदण्ड उल्लङ्घन गरिएका र अतिक्रमित जमिनको खोजी गर्ने अभियान नै सकिन्छ भनेर।
यस कार्यालयमा पोखरा उपत्यकाका सार्वजनिक जमिन, चौर, पाटन, फाट सँगै ताल, खोलानाला, डिलभिर, मापदण्ड र अतिक्रमणसम्बन्धी अभिलेखहरू सुरक्षित राखिएका थिए।
यो सानो कार्यालय, साँच्चिकै, पोखराको जग्गा–जमिनको इतिहास बोकेको संग्रहालय थियो।
सोचिएको होला—भवन ध्वस्त हुँदा सबै रेकर्ड पनि सकियो। तर होइन, हामी सूचना र प्रविधिको युगमा छौं। आशा गरौं, यी अमूल्य दस्तावेजहरू डिजिटल भर्जनमा सुरक्षित रहेका छन् ।
(आचार्य पोखरा महानगरपालिकाका प्रमुख हुन् । )