विश्व कीर्तिमानी धावक घिमिरे र समाजसेवी गुरुङ सम्मानित हुदै

santan ads

पोखरा । पोखरा प्रवद्र्धन केन्द्रको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक तनहुँका विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र पोखराका समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ ।

संस्थाले वार्षिक कार्ययोजना अन्तर्गत समाजसेवा, राष्ट्रसेवा र खेलकुदका माध्यमबाट उद्यमशीलता, नवप्रवर्तन एवम् पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एकजना खेलकुद र एकजना उद्यम तथा नवप्रर्वतन क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्दै आएको छ ।

यसअघि, उक्त सम्मानबाट अग्रज समाजसेवी तथा उद्यमी पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसान गुरुङ सम्मानित भइसकेका छन् ।

यसपटक सम्मानित हुने वसन्त घिमिरेको जन्म तनहुँको शुक्लागण्डकी–६ खैरनीटारमा २०२३ वैशाख ३ मा पिता बामदेव घिमिरे र रेवती घिमिरेको कोखबाट भएको हो । 

उनी सन् १९९५ मा पोखरामा सम्पन्न म्याराथनका स्वर्णपदक विजेता हुन् । सार्क स्थापनाको १० औँ वार्षिकोत्सव अवसरमा आयोजित सार्कराष्ट्रस्तरीय पोखरा जिरो किमीदेखि मुग्लिनसम्म (९० किमी) दूरीको अल्ट्राम्याराथनमा उनले ७ घण्टामै पूरा गरी कीर्तिमानी कायम सहित नेपाललाई स्वर्ण दिलाएका थिए । यस्तै, पोखराको हल्लनचोक–पुनहिल–हल्लनचोकको १ सय किमी दूरीको अल्ट्राम्याराथनमा समेत उनले ११ घण्टा ५९ मिनेट, ५९ सेकेण्डमा पार गरेका थिए ।

सन् १९९६ मा वेलायतमा भएको १ सय २८ किमीको अल्ट्राम्याराथनमा ४० औं स्थानमा आउन सफल घिमिरेले १३ घण्टा ३८ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी कीर्तिमानी कायम गरेका थिए । उनले विभिन्न युरोपियन राष्ट्रमा सम्पन्न म्याराथन र अल्ट्राम्याराथनमा दर्जनौँ पदक जितेर पृथक पहिचान कायम गरेका छन् ।

यसैगरी, समाजसेवा क्षेत्रबाट सम्मानित हुने अशोक गुरुङ विश्व शान्ति स्तूप समितिका अध्यक्ष हुन् । पोखरा–२२, पुम्दीभुम्दी अनदुमा कृष्णबहादुर गुरुङ र आमा लक्ष्मीदेवीका कान्छो सन्तानका रूपमा २०२४ सालमा उनको जन्म भएको हो । उनी २०५० सालदेखि विश्व शान्तिस्तूपको श्रीवृद्धिमा क्रियाशील छन् । पुम्दीभुम्दीको पहिलो पर्यटकीय गन्तव्य विश्वशान्ति स्तूप समितिमा सचिवको नेतृत्वबाट अगाडि बढेका उनी उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन् ।

केन्द्र र पोखरा क्लिकको आयोजनामा दोश्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता विश्व पर्यटन दिवसको दिनमा असोज ११ गते शनिबार पोखरामा हुनेछ । खुल्ला सहित प्रतियोगितामा ६ इभेण्ट समेटिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।  

Scroll to Top