नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । सोमबार च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा विजयी भएसँगै भारतले नेपालसँगको भेट पक्का गरेको हो ।
भारतले पाकिस्तानलाई ३–२ ले हरायो । कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन डल्लामलुओन गाङ्टे, गुनलेइबा वाङखेरकपाम र रहन अहमदले समान एक गोल गरे । पाकिस्तानका महोम्मद अब्दुल्हा र हम्जा यासिरले समान एक गोल फर्काएका थिए ।
नेपालले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारत समूह ‘बी’को विजेता बन्यो ।
समूह चरणमा नेपालले तीन अंक जोडेको थियो । नेपालले समान एक जित र हार आत्मसात् गरेको हो । भारतले तीन खेलमा शतप्रतिशत जितसहित नौ अंक बनायो ।