पोखरामा भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सहकारी ठगीसम्बन्धी महत्त्वपूर्ण प्रमाणहरू नष्ट भएकोमा सहकारी बचत पीडितहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सहकारी बचतपीडित संघ कास्कीले विज्ञप्तिमार्फतआन्दोलनका क्रममा जिल्ला र उच्च अदालत पोखरा, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत सरकारी वकिलको कार्यालय तथा सहकारी शाखामा आगजनी गरी सम्पूर्ण सबुत प्रमाण र कागजातहरू नष्ट गरिएको जनाएको छ ।
विज्ञप्तिमा, सहकारी मुद्दासँग जोडिएका निकायहरूलाई नै केन्द्रबिन्दु बनाएर आगजनी गरिएको र सहकारी रजिस्ट्रारको कार्यालयमा केही नगरी पोखरा महानगरपालिका सहकारी शाखा जलाइएकोमा प्रश्न उठाइएको छ ।
यसले आन्दोलनमा घुसपैठ भएको र नियोजित रूपमा प्रमाण नष्ट गर्ने उद्देश्य रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
सहकारी बचत पीडित संघ कास्कीले जेनजी पुस्ताको आन्दोलनलाई पूर्ण समर्थन रहेको स्पष्ट पार्दै, यस घटनामा अन्य समूह वा पार्टीका व्यक्तिहरूले घुसपैठ गरी यस्तो कार्य गरेको हुन सक्ने बताएको छ ।
संघले आफ्ना घरघरका जेनजी पुस्ता पनि बचत रकम नपाउँदा पीडित रहेको भन्दै अब सहकारी पीडितहरूको समस्याबारे जेनजी पुस्ताबाटै आवाज उठ्नुपर्नेमा जोड दिएको छ ।
विगत ३ वर्षदेखि सरकार, सरकारी पद, राजनीतिक पार्टी तथा पदमा बसेका व्यक्तिहरूबाट आफूहरू पीडित बनेको गुनासो गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी नितान्त सहकारी पीडित हौँ, हामी कुनै पार्टीमा आबद्ध छैनौँ र यही समस्याको बारेमा वर्षौँदेखि आवाज उठाइरहेका छौँ । अब हामीले न्याय पाउने हो भने त्यो व्यवस्थाभित्र सहकारी पीडितलाई पनि सहभागी गराइयोस् ।’
कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएको सूर्यदर्शन, ढोरपाटनका मेयर देवकुमार नेपाली जोडिएको प्राइम सहकारीसहित कम्तीमा ७ वटा सहकारी ठगी प्रकरणका मुद्दाहरू विचाराधीन अवस्थामा थिए ।
आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको आगजनीले ती मुद्दाका अधिकांश अनुसन्धानका प्रमाण र प्रतिलिपिहरू नष्ट भएका छन् ।
कास्की कारागारमा सूर्यदर्शन सहकारी प्रकरणसँग जोडिएका ६३ जनालाई प्रतिवादी बनाइएकोमा कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाश दर्लामी, सञ्चालक समितिका सदस्य भविश्वर अर्याल र जीबी राईकी सहयोगी भनिएकी लीला पछाईंसहितका व्यक्तिहरू कारागारमै थिए ।
सहकारीपीडितकातर्फबाट न्यायका लागि लडिरहेका किरण श्रेष्ठले जेनजीबाट सहयोगको अपेक्षा गरेका छन् । नयाँलिपिसँग श्रेष्ठले भने ‘जेनजी पूस्ताका अभिभावक पनि सहकारीबाट ठगिएका छन्, उहाँहरुले बचत फिर्ता र न्यायकाखातिर आवाज उठाउनुहुन्छ भन्ने विश्वास छ ।’
सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित फरार भएपछि १ हजार ३७ जनाले निवेदन दिएपछि २०८० असोजमा पहिलो प्रतिवेदन सार्वजनिक भएको थियो ।
त्यस्तै, पोखरामा सूर्यदर्शनसँगै इमेज सहकारी, मित्रमिलन सहकारी, बलिदानी, प्राइम सहकारीबाट ठूला संख्यामा ठगिएका बचतकर्ता रहेका छन् ।
