पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ ।
जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो ।
मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ ।
पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हालसम्म ७५ जना धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् ।
आयोजकले २५० जनासम्म धावकलाई व्यवस्थापन गर्ने भएको र फस्ट कम फस्ट सर्भिसका आधारमा २५० संख्या नपुग्दासम्म पुनः फर्म खोलिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।