पोखरामा आज जेन–जी पुस्ता सडकमा उत्रिएको छ ।
बिहान ११ बजे सभागृहचोकबाट अघि बढेको उनीहरुको प्रदर्शन अहिले महानगरपालिका अघि आइपुगेर धर्नामा परिणत भएको छ ।
प्रदर्शनमा विभिन्न कलेजका विद्यार्थीहरु यूनिफर्ममै प्रदर्शनमा सहभागी भएका छन् भने युवाहरुको बाहुल्यता रहेको छ ।
यही प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्तासमेत थपिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थक, शुभेच्छुक पनि देखिएका छन् ।
प्रदर्शनमा राप्रपाको समूह अग्रभागमा देखिएको छ । त्यस्तै, रास्वपा समर्थित समूह बीचभागमा रहेर अगाडी बढेको छ ।
हाल महानगरको गेट अगाडी बसेर नाराबाजी गरिरहेको प्रदर्शन यही सिमित रहन्छ वा चिप्लेढुंगातर्फ बढ्छ यकिन भएको छैन ।
स्थानीय प्रशासनले प्रदर्शनमा बलियो सुरक्षा व्यवस्था गरेको देख्न सकिन्छ ।
यस अभियानमार्फत युवाहरूले राजनीतिज्ञ र प्रभावशाली व्यक्तिहरूका छोराछोरीहरूले भ्रष्टाचारबाट प्राप्त सुविधाको उपभोग गरिरहेको आरोप लगाएका छन्।
टिकटक र रेडिट जस्ता प्लेटफर्महरूमा लोकप्रियता कमाएको यो अभियानले राजनीतिक नेताका छोराछोरीहरूलाई “नेपो किड” भनी सम्बोधन गर्दै उनीहरूको जीवनशैलीमाथि प्रश्न उठाएको छ।