नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा– १७ ले सेती क्यानोनिङ प्रालिको पातले छाँगोमा वातावरणीय प्रभावमाथि सार्वजनिक सुनुवाइ कार्यक्रमको क्रममा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् ।
उनीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
नेपाली कांग्रेस वडा नं १७ का सभापति देवराज आचार्य, नेकपा माओवादी केन्द्र वडा नं १७ का अध्यक्ष गान्धि गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा–१७ की उपसभापति जुना बास्तोलाले संयुक्त विज्ञप्ति निकालेर बाहिरबाट ल्याइएका उच्छृखंल युवाले खुकुरी, तरवारजस्ता हतियार लिइ स्थानीय तथा विद्यार्थीमाथि आक्रमण गरिएको जनाएका हुन् ।
छोरेपाटनस्थित पाताले छाँगो ठेक्कामा पाएको कम्पनिले भदौ १९ मा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नेविसंघका नेता निर्दोष विक्रम पौडेलमाथि खुकुरी प्रहार भएको थियो ।
‘सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत कमाइको साधन बनाउन खोज्ने, प्रश्न गर्ने स्थानीय नागरिकलाई आक्रमण गर्ने प्रवृत्तिको हामी भत्र्सना गर्छौ’ विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर तथा प्रवक्ता जवाफ नदिइ स्थलबाट बाहिरिएका थिए। निजी कम्पनिलाई ४० वर्षका लागि सम्झौता गरेर दिने निर्णयलाई लिएर स्थानीयले असहमति जनाएपछि कार्यक्रम हुन सकेको थिएन।
सार्वजनिक पर्यटकिय स्थललाई न्यूनतम दरमा टेण्डर गरी मनपरी ठेक्का प्रक्रियामार्फत व्यक्तिगत लाभ लिन खोजिएको तथा सोही विषयमा नागरिकले प्रश्न गर्दा उल्टै हतियारधारी युवामार्फत आक्रमण भएको उनीहरुको आरोप छ।