सिडिओसमक्ष युवा व्यवसायीको माग ‘व्यवसाय रोकियो, सामाजिक सञ्जाल खुल्ला गरौं’

santan ads

गण्डकी प्रदेशका युवा व्यवसायीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।

फेसबुक, ह्वाट्सयप, इन्टाग्रामजस्ता सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइएको सरकारी निर्णयका कारण गण्डकी प्रदेशको पर्यटनदेखि व्यापार व्यवसायसम्ममा ठूलो असर परेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले शर्मामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ– ‘सामाजिक सञ्जालमार्फत सञ्चालित सयौं आम्दानीका स्रोत प्रभावित भएका छन् । यसले लाखौं मानिसको दैनिकी र रोजगारीसमेतमा नकारात्मक असर पारेको छ । पर्यटकहरुले बुकिङ रोक्न थालेका छन् भने बुकिङ गरिसकेकाहरुले समेत रद्द गर्न थालेका छन् ।’

महासचिव गौतमले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन कानुन बनाउन आवश्यक रहेको तर पर्याप्त कानुनी आधार र कूटनीतिक पहल नगरी हतारमा बन्द गर्ने निर्णयप्रति आपत्ति रहेको बताए ।

उनले भने– ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा धक्का पुर्‍याउने निर्णय कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निष्कर्ष हो ।’

फिने गण्डकीका अध्यक्ष जितुले संसद्मा सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक विचाराधीन रहँदा सरकारले पुरानो २०६३ सालको कानुनको आधारमा निर्देशिका बनाएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय उचित नभएको उल्लेख गर्दै तत्काल फिर्ता गर्न माग गरे ।

‘कूटनीतिक प्रयास गर्दै नियमनको प्रक्रिया अघि बढाउन सकिन्छ, तर लाखौंको रोजगारी खोस्ने र अर्थतन्त्रलाई धक्का दिने निर्णय सरकार फिर्ता होस् भन्ने हाम्रो माग हो,’ उनले भने ।

Scroll to Top