ललितपुरको हरिसिद्धी–गोदावरी सडकखण्डमा आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले ठक्कर दिँदा घाइते भएकी ११ वर्षीया बालिकाको उपचार खर्च र क्षतिपूर्ति भुक्तानी भएपछि घटना आपसी समझदारीमा टुंगिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गाडी चालक चन्द्रनारायण चौधरी आफैँ प्रहरीसमक्ष हाजिर भएपछि मन्त्री मगर पीडित बालिकालाई भेट्न अस्पताल पुगेका थिए।
मन्त्रीले सम्पूर्ण उपचार खर्च बेहोर्ने र आवश्यक परे भविष्यमा पनि जिम्मेवारी लिन तयार रहेको लिखित प्रतिबद्धता दिएपछि पीडित परिवारसँग मिलापत्र भएको थियो।
यसपश्चात शनिबार राति चालक चौधरीलाई प्रहरीबाट रिहा गरिएको प्रहरीले जनाएको छ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिक मुख्य सडकमा को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएकी बालिका तत्कालै बिएन्डबी अस्पतालमा भर्ना गरिएकी थिइन्। उनको गाला र घुँडामा चोट लागेको थियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।
पीडित परिवारलाई मन्त्रीले उपचार खर्चका साथै २५ हजार रुपैयाँ क्षतिपूर्ति पनि प्रदान गरेका छन्।