नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ।
शनिबार दिउँसो रूपा गाउँपालिका–१ स्याङ्जामा अवस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानको पुनः आरम्भ गरियो।
खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठा छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए। खनालका छोरी सर्मिला र छोरा सुदीप हाल माओवादी केन्द्रमा सक्रिय छन्।
साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए। उनले ‘जनयुद्ध’ लाई महान् क्रान्ति भन्दै जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न पार्टी सफल भएको दाबी गरे।
प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अगाडि बढाइरहेको उल्लेख गरे।
यो अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको थियो तर बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित गरिएको थियो।