यु-१४ फुटबल,फाइनल समिकरण पुरा

santan ads

पोखरा । पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु -१४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु-१४ विद्यालयस्तरीय छात्र/छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए ।

बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान १/१ गोल गरे ।

सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे । शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए ।

दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १–० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो ।

अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो । उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए ।

यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३–० ले हराउँदै समुह विजेता बन्यो ।

समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो । शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए । समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो ।

सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए ।

भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।

Scroll to Top