फेवा किनारमा ‘एभरेष्ट महिला भलिबल लिग’को ट्रफी सार्वजनिक

santan ads

पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को ट्रफी सार्वजनिक गरिएको छ ।

यही भदौ २० देखि २८ गतेसम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरे ।

नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यको भनाई छ ।

‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो, उनले भने, यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकहरूको चाहानालाई पुरा गर्नेछ ।’

इभेन्टहरूको सहरका रूपमा समेत विकसित हुँदै गइरहेको पोखरालाई यस प्रकारका कार्यक्रमहरूले सदैव चलायमान बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ ।

आयोजकका अनुसार सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ ।

Scroll to Top