पोखरा । पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ ।
मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमी र कालिका मावि विजय भएको छ । फिस्टेल एकेडेमी शिशु कल्याण बोर्डिङ स्कुललाई २–१ गोल र कालिका माविले भद्रकालीलाई १–० गोलले पराजित गरेको हो ।
पोल बि तर्फ भएको खेलमा हेमजा बोर्डिङ र बालकल्याण विजय भएको छ । हेमजा बोर्डिङले बालोदयलाई २–० र बालकल्याणले गुरुकुललाइ ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।
त्यसअघि छात्रातर्फ मंगलबार विहान भएको खेलमा त्रिभुनव शान्ति माविले सेन्ट मेरिजलाई ३–१ ले हराएको छ । यस्तै दोस्रो खेलमा सैनिकले वेशलाइन एकेडेमीलाई ७–० को फाराकिलो गोलअन्तरले हराएको छ ।
प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।