यौनकर्मीको आरोपमा पोखराको जाल्पारोडस्थित एक खाजाघरबाट ११ जना समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका १ दर्जन प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । छापाका दौरान गणना गर्दा पक्राउ पर्नेमा खाजाघर सञ्चालकसहित ८ महिला र ३ पुरुष रहेका छन् ।
प्रहरीले छापा मार्ने क्रममा खाजाघरको काउन्टरमुनि रहेका २ ठूला कार्टुनभरी कण्डमसमेत भेटेको छ ।
खाजाघरले नाम उल्लेखित कुनै बोर्ड भने राख्ने गरेको थिएन । छापा मार्न सुरु गरेपछि सञ्चालकले उक्त युवतिहरुलाई कर्मचारी बताएपनि अविश्वसनीय सुनिन्थ्यो ।
यसअघि कास्की प्रहरीले भदौ १३ गते दिउँसो २ बजेको समयमा खाजाघरहरूमा होहल्ला भइरहेको र अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा बागलुङ बसपार्क क्षेत्रमा छापा मारेर १९ जनालाई पक्राउ गरेको थियो ।
छापमा सरिक प्रहरीले विस्तृत जानकारी दिन नचाहेपछि कास्की प्रहरीसँग थप बुझ्ने प्रयास गर्दा प्रहरी प्रमुखले फोन रिसिभ गरेनन् भने सूचना अधिकारीको मोबाइल ‘स्वीच अफ’ रहेको छ ।