पर्यटन प्रवर्द्धनको नयाँ खुड्किलो चढ्दै पोखराबाट भुटानको पारोका लागि सिधा चार्टर उडान सञ्चालनमा आउने भएको छ।
युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले भुटान एयरलाइन्ससँगको सहकार्यमा आगामी २०२५ सेप्टेम्बर २८ (असोज १२ गते) बाट यो सेवा सुरु गर्दैछ। प्रारम्भिक चरणमा असोज १६, २० र २४ गतेका लागि पनि उडान तालिका तय भइसकेको छ।
यस सेवाको औपचारिक घोषणा मंगलबार पोखराको होटल बाराहीमा आयोजना गरिने विशेष कार्यक्रममार्फत गरिनेछ। युटिटिले ट्राभल एजेन्टहरूसँगको अन्तरक्रिया, उत्पादन प्रस्तुति र पत्रकार सम्मेलनसहित कार्यक्रमको तयारी गरेको छ।
युटिटिका अनुसार यो सीधा हवाई सम्पर्कले नेपाल र भुटान दुवै देशको पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्याउनेछ। यसले पर्यटकहरूलाई दुवै गन्तव्यको अनुपम प्राकृतिक सुन्दरता र समृद्ध सांस्कृतिक अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ।
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यो पहलले पोखरा र पारो दुवै क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।