एजेन्सी । अफगानिस्तानमा गए रातिको भूकम्पमा परी कम्तीमा ६ सय १० जनाको मृत्यु भएको छ। भूकम्पमा परी हालसम्म एक हजार तीन सयभन्दा बढी घाइते भएका छन्।
तालिबानको आन्तरिक मन्त्रालयले मृतक संख्या अझै बढ्नसक्ने चेतावनी दिएको छ। स्थानीय समयअनुसार आइतबार राति ११:४७ मा अफगानिस्तानको पूर्वी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट करिब १७ माइल टाढा रहेको थियो। जलालाबादमा करिब दुई लाख मानिस बस्छन् र राजधानी काबुलबाट यो शहर एक सय माइल पनि टाढा छैन।
धेरैजसो हताहाती कुनार प्रान्तमा भएको छ। सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार भूकम्पले देशका केही पूर्वी प्रान्तमा गम्भीर जनधनको क्षति पुर्याएको छ। पाकिस्तानसँग सीमाना जोडिएका पहाडी क्षेत्रमा घरहरू भग्नावशेषमा परिणत भएका छन् र सञ्चार सीमित रहेको छ।
यसअघि २०२३ को अक्टोबरमा अफगानिस्तानमा विनाशकारी भूकम्पमा चार हजार मानिसको मृत्यु भएको थियो भने २०२२ मा पूर्वी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्पमा करिब एक हजार मानिसको मृत्यु भएको थियो।