निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा आयोगको सिट संख्या बढाउने निर्णयलाई स्वागत गर्दै एमबीबीएसमा न्यूनतम १५० र बीडीएसमा न्यूनतम १०० सिट तोक्न माग गरेका छन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले विज्ञप्ति जारी गर्दै पर्याप्त पूर्वाधार, दक्ष जनशक्ति र शैक्षिक वातावरण भए पनि हालको सिट संख्या अपर्याप्त रहेको बताए ।
उनका अनुसार सिट संख्या बढाउँदा नेपाली विद्यार्थीहरू विदेशिनुपर्ने बाध्यता हट्नेछ र भारतीय विद्यार्थीहरूले समेत नेपालमा भर्ना लिने भएकाले सिट खाली नहुने दाबी गरिएको छ ।
संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा निजी कलेजहरूको ७०% योगदान रहेको उल्लेख गर्दै, कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको सहयोगको अपेक्षा गरेको छ ।
आयोगलाई तत्काल नीतिगत सुधार गरी सिट संख्या बढाउन आग्रह गरिएको छ ताकि चिकित्सा शिक्षालाई अझ सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकियोस् ।