पोखरालाई खेलकुदको ‘हब’ बनाउन कोरियाली सहयोग

santan ads

पोखरा महानगरपालिका र दक्षिण कोरियाको चेओङ योङ काउन्टीबीच खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी भएकाे छ।

खेलाडीको क्षमता अभिवृद्धि, मैत्रीपूर्ण सम्बन्ध विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे।

समझदारीपत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओङ योङ काउन्टी खेलकुद समितिका तर्फबाट अध्यक्ष हान ग्वाङ् सेओकले हस्ताक्षर गरे।

नगर प्रमुख धनराज आचार्यले यो समझदारीले पोखरालाई ‘खेलकुदको हब’ बनाउने लक्ष्यमा सघाउ पुग्ने बताए।

‘फुटबल, बक्सिङ, तेक्वान्दो लगायतका खेलमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यसले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यको औचित्य पुष्टि गरेको छ।’

उनले यो सहकार्यमार्फत पोखरेली खेलाडीले कोरियाली प्रशिक्षकबाट मार्गदर्शन पाउने र नियमित मैत्रीपूर्ण खेलको अवसर प्राप्त गर्ने बताए।

चेओङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीको प्रदर्शन सुधार गर्न कोरियाली पक्षले उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गर्ने प्रतिबद्धता जनाए।

उनले युवा खेलाडी आदानप्रदान, विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन र पोखराका खेलकुद संस्थाहरूको व्यावसायिक विकासमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीले पोखराको समग्र खेलकुद विकास, पूर्वाधार निर्माण र खेलाडीको क्षमता अभिवृद्धिमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सोही अवसरमा जिल्ला खेलकुद विकास समिति कास्की र चेओङ योङ काउन्टीबीच पनि छुट्टै समझदारी भएकाे छ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँ लगायतले समझदारीले पोखरेली खेलाडीको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

Scroll to Top