पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सरकारले अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सम्पूर्ण यातायात व्यवसायीलाई आह्वान गरेको छ ।
प्रशासनले इम्बोस्ड नम्बर प्लेट जडानको दबाब दिएमा कडा प्रतिवाद गर्ने कम्पनीले चेतावनीसमेत दिएको छ ।
सरकारले आगामी २०८२ भदौदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेसँगै यातायात व्यवसायीहरूले यसको विरोध सुरु गरेका हुन् ।
यसै क्रममा, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान जारी गर्दै सबै व्यवसायीलाई यो निर्णयको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
उनले आफ्नो आह्वानमा भनेका छन्, ‘पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि सबै व्यवसायी साथै महासंघ आबद्ध सबै व्यवसायीलाई इम्बोस्ड नम्बर जडान नगर्न अनुरोध गर्दछौं । यदि प्रशासनबाट कुनै दबाब दिएमा कडा प्रतिवादमा उत्रन कम्पनी तयार रहेको छ । सबैले यसको विरोध गरौं !’
यातायात व्यवसायीहरूले इम्बोस्ड प्लेटको गुणस्तर, लागत र अव्यावहारिकताका विषयमा सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन् । सरकारले भने यातायात प्रणालीलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इम्बोस्ड प्लेट अनिवार्य रहेको दाबी गर्दै आएको छ ।
यातायात व्यवस्था विभागले पटक-पटक म्याद थप गर्दै अन्ततः सवारी नवीकरण गर्दा इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ ।