दक्षिणी गाजा पट्टीको एक अस्पतालमा इजरायली आक्रमणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने ४ पत्रकारसहित कम्तीमा २० जनाको ज्यान गएको छ ।
समाचार संस्था रोयटर्सले नासेर अस्पतालमा भएको आक्रमणमा आफ्ना १ क्यामेराम्यानको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।
यस्तै ज्यान गुमाउने अन्य ३ पत्रकार अल जजीरा, एसोसिएटेड प्रेस र एनबीसीका रहेका खबरमा उल्लेख छ ।
शुरुआती आक्रमणमा धेरै मानिसहरूको ज्यान गएको र उद्धारकर्ताहरू घटनास्थलमा पुग्दा भएको दोस्रो आक्रमणमा अरूको ज्यान गएको हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागले जनाएको छ ।
गाजा शहरको अल–शिफा अस्पताल नजिकै इजरायली लक्षित आक्रमणमा अल जजीराका ४ सहित ६ जना पत्रकारको ज्यान गएको २ हप्तापछि आजको आक्रमण भएको हो ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको खबरमा उल्लेख छ ।