सूर्यदर्शन सहकारी ठगीः अदालतमा हाजिर भएकै दिन १० लाख धरौटीमा छुटे बमजन

santan ads

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका फरार प्रतिवादी तथा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन अदालतमा हाजिर भएकै दिन १० लाख रुपैयाँ धरौटीमा रिहा भए ।

आइतबार जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेका उनलाई न्यायाधीश शंकरकुमार राईको इजलासले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो ।

बमजन सहकारीका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन् । उनले नै राईलाई पोखरा ल्याएर सहकारीको अध्यक्ष बनाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

करिब १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको सूर्यदर्शन ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये मुख्य अभियुक्त मानिएका जीबी राई, कुमार रम्तेल लगायत अझै फरार छन् ।

यसअघि पक्राउ परेकामध्ये सहकारीका पूर्वकोषाध्यक्ष भूपेन्द्र राई, व्यवस्थापक नेत्रप्रसाद पौडेल र पूर्वउपाध्यक्ष शिवराजकुमार हाल पुर्पक्षका लागि कारागारमा छन् ।

पक्राउ परेकामध्ये कैलाशकुमार दर्लामी र हेमन्त अधिकारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका थिए । बमजनको रिहासँगै धरौटीमा छुट्नेको संख्या तीन पुगेको छ ।

अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको र सहकारी सञ्चालनमा संलग्न नभएको दाबी गरे ।

फरार प्रतिवादी अदालतमा उपस्थित हुँदा जाहेरवालालाई जानकारी नदिएको भन्दै पीडितहरूले भने असन्तुष्टि जनाएका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘जाहेरवाला हामी हौं, तर हामीलाई थाहै नदिई बयान लिइयो, यसमा हाम्रो असन्तुष्टि छ ।’

अदालतमा पीडितको पक्षबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेल तथा बमजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

Scroll to Top