पोखरा महानगरपालिका वडा नम्बर १९ मा क्रियाशील नव आदर्श विकास समाजद्वारा आयोजित लामाचौर तीज महोत्सव शुभारम्भ भएको छ ।
महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
नव आदर्श विकास समाजको २९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले मौलिक पर्वको रूपमा मनाइने तीजलाई तडकभडक नगरी मौलिकरूपमै मनाउनु पर्नेमा जोड दिए ।
तीजको सांस्कृतिक पक्षको उजागर गर्दै यसलाई जगेर्ना गर्ने कार्यमा नव आदर्श विकास समाजले महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताए ।
१० गतेसम्म चल्ने महोत्सवमा तीज गीत प्रतियोगिता, महिला, पुरुष र छात्रहरूबीचमा भलिबल प्रतियोगिता लगायत कार्यक्रमहरू समावेश गरिएका छन् ।