खाद्य सामग्रीमा ‘फुड प्वाइजन’को आशंका तर विद्यालय छुट्टी छैनः जीबीएस

santan ads

गण्डकी बोर्डिङ स्कुलको छात्रावासमा रहेका केही विद्यार्थी बिरामी परेका छन्।

भदौ ६ गते बिहानदेखि विद्यार्थीमा एक्कासि पेट दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिएपछि विद्यालयले खाद्य विषाक्तताको आशंका गरेको छ।

यस घटनालाई अतिरञ्जित गरेको तथा सामाजिक सञ्जालमा सहायक प्राचार्यको नाम जोडेर विद्यालयमा ३ दिन बिदा दिइएको भनी भ्रामक प्रचार भएको भन्दै विद्यालयले त्यसको खण्डन गरेको छ।

हाल विद्यालयमा रहेका र बिदामा घर गएका विद्यार्थीमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको विद्यालयको भनाइ छ।

विद्यालयमा हाल कुनै समस्या नरहेको र नियमित तालिकाअनुसार आइतबारदेखि पठनपाठन सञ्चालन हुने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

विद्यालयले भदौ ७ गते एक विज्ञप्ति जारी गर्दै भदौ ६ गते बिहान करिब १:३० बजेपछि विद्यार्थीमा स्वास्थ्य समस्या देखिन थालेको जनाएको छ।

बिरामी परेका विद्यार्थीलाई तत्काल विद्यालयको स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। बिहान ९ बजेसम्म धेरै विद्यार्थीमा यस्तै लक्षण देखिएको तर सुरुमा उपचार गरिएका विद्यार्थीमा भने पुनः समस्या नदेखिएको विद्यालयले बताएको छ।

केही विद्यार्थीमा भने मानसिक त्रासका कारणले समेत लक्षण देखिएको विज्ञप्तिमा उल्लेख छ।

समस्या देखिएपछि सोही दिन दिउँसो अधिकांश विद्यार्थीलाई नियमित तालिकाअनुसार घर पठाइएको थियो भने केहीलाई अभिभावकको जिम्मा लगाएर समयअगावै घर पठाइएको थियो।

विद्यालयले अघिल्लो दिन खरिद गरेर ल्याइएको खाद्य पदार्थका कारण समस्या भएको हुन सक्ने आशंका गरेको छ।

यस विषयमा छानबिन गरिदिन खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखरालाई पत्राचार गरिएको प्राचार्य डा. विश्वयुधिर पौडेल घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई समेत अनुरोध गरिएको र मन्त्रालयको एक प्राविधिक टोलीले विद्यालयको अवलोकन भ्रमण तथा आवश्यक सोधपुछ गरिसकेको विद्यालयले जनाएको छ।

Scroll to Top