राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभासद् शिव नेपालीले बिहीबार संसदको विशेष समयमा बोल्दै देशको लिपुलेक र कालापानी संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालको भूभागको संरक्षण गर्ने नेपाल सरकारले यथाशीघ्र पहल गर्ने छ भन्ने आशा र विश्वास लिएको बताउँदै सभासद् नेपालीले सरकार भ्रष्टाचारको ‘भ’ र तस्करीको ‘त’ सुन्दा काँप्न थालेको उल्लेख गरे ।
नेपालीले सम्बोधनमा ‘मानव तस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आतिन्छन्रु ‘भ्रष्टाचार’को भ सुन्न डराउँछन्, ‘तस्करी’ को त सुन्दा काप्छन्रु ‘काण्ड’ भन्दा औँला हामी नयाँतिर तेस्र्याउछन् ! संसारका हरेक राष्ट्रहरूमा जब भ्रष्टाचार र अत्याचारको सीमा चरममा पुग्दछ तब परिवर्तनकोवाहकलाई राष्ट्रले जन्माउने गर्दछ’ भनेका छन् ।
नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गरेको उनको ठहर छ । ‘रविपछि अब आदिवासी–जनजाति समुदायकी छोरी, उपसभामुख माननीय इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेल्दै, यो भन्दा ठूलो लोकतन्त्रको अपमान के हुन सक्छ ?’ उनले प्रश्न गरे ।
‘उपसभामुखज्यूले २०७९ माघ ५ गते पदभार ग्रहण गर्नुभयो। त्यसपछि फागुन १४ गते एउटा सामान्य पत्र— एउटै कार्यक्रममा अन्तर्वार्ताको मिति मिलाइदिनुस् भन्ने— बनेको थियो। त्यो पत्र कतै दर्ता छैन, कार्यान्वयन छैन, भिसाको लागि सिफारिस छैन। तर त्यसलाई १७ महिना लुकाएर राखेर साउन २०८१ मा मात्रै बदनियतपूर्वक सार्वजनिक गरियो’ नेपालीले बोलेका छन् ।
यदि त्यो गलत थियो भने त्यसैबेला कारबाही किन भएन? भन्दै उनले यस विषयमा साउन ६ गते नै विज्ञप्ति जारी गरेर स्वतन्त्र छानबिन समिति गठन गर्न आग्रह गरेको ध्यानाकर्षण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी संवैधानिक प्रक्रिया, विधिको शासन र लोकतान्त्रिक मर्यादाको पक्षमा अडिग रहेको भन्दै नेपालीले पार्टीको अडान जनताको पक्षमा र अन्यायको विरुद्धमा रहेको प्रष्ट्याए ।
‘अन्याय देखेर चुप बस्नेहरू मौन मलामी हुन्। भ्रष्टाचार र तस्करीसँग सम्झौता गर्नेहरू जनताको प्रतिनिधि होइनन्, अपराधका संरक्षक हुन्’ सम्बोधनको अन्त्यमा उनले भनेका छन् ।