टप एन्ड टी-२० मा नेपालद्वारा हारको ‘ह्याट्रिक’

santan ads

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी-२०’ सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ।

सोमबार डार्बिनमा भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजय भोगेको थियो।

सोमबार मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १४४ रन जोड्यो।

नेपालका ओपनर कुशल भुर्तेल १३ बलमा ४ चौकाको मद्दतमा २५ रन जोडेर आउट भए। चौथो ओभरको दोस्रो बलमा भुर्तेल आउट भएपछि अन्तिम बलमा भीम सार्की १ रनमा डग वानेरको एलबिडब्लूको धरापमा परे।

त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेख मिलेर नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो।

रोहितले ३१ बलमा ३३ रन बनाए भने आसिफले १७ ओभरमा रनआउटको सिकार हुनुअघि ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाउन सफल भए।

त्यसपछि दीपेन्द्रसिंह ऐरी १ रनमा बोल्ड भएका थिए। कुशल मल्ल १९औं ओभरमा ११ रनमा आउट भए। अन्तिम बलमा आउट भएका गुल्सन झाले २ रन र आरिफ शेख ८ बलमा नटआउट भए।


बलिङमा मेलवर्नका वारेन र अस्टिनले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्नले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

उसका लागि थोमस रोजर्सले ६५ रन र ब्लेक म्याकडोनाल्डले ७४ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिए। सोमपाल कामी र साहब आमलले १-१ विकेट लिए।

सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।

अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।

Scroll to Top