पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् ।
अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी विकास उपसमितिबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति जुटेको हो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक बन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि महिलाहरुले ठूलो हैन, सानोतिनो व्यवसायमात्र गर्ने हो भन्ने मानसिकताबाट नेपाली समाज मुक्त हुन नसकेको धारणा राखिन् ।
‘हस्तकला, साना तथा घरेलु उद्योगमात्र महिलालाई जिम्मा लगाउने प्रवृत्तिबाट माथि नउठेसम्म देशमा उद्यमशिलताको विकास हुन सक्दैन,’उनले भनिन्,‘राज्यले महिला उद्यमशिलता विकासका लागि गरेका केही नीतिगत व्यवस्थाहरु साँच्चै राम्रा छन् ।
महिलाको नाममा उद्योग-व्यवसाय दर्ता गर्दा दिइने छुट,पछिल्लो समय बैंक तथा वित्तीय संस्थामार्फत् महिला उद्यमशिलताका लागि प्रदान गरिएका कर्जाहरुको हामीले पनि उपयोग गर्नुपर्छ । तर राज्यले व्यवसाय गर्दा आइपर्ने झन्झट कम गर्नका लागि अझै धेरै काम हुनुुपर्छ ।’
पछिल्लो समय नयाँ अवसर पनि सिर्जना भएका, हस्तकलादेखि परम्परागत कृषि उत्पादनहरुको बजार बढेको तथा रैथाने स्वाद चाख्न मान्छेहरु सहरबाट गाउँसम्मै पुग्ने गरेकाले त्यो मागलाई केन्द्रमा राखेर महिलाहरुले व्यवसाय गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समिति बागलुङका अध्यक्ष अर्चनाकुमारी पालिखेले आफू व्यवसायमा कसरी सफल भइन्छ भन्नेबारे महिला स्वयं सचेत हुँदा व्यवसाय पनि सफल हुने बताइन् ।
उनले बागलुङका दूरदराजका गाउँमा उत्पादित अर्गानिक बस्तुको बजारीकरणमा सहकार्यको प्रस्ताव पनि राखिन् ।
‘महिलाहरुले केही गर्न सक्दैनन् भन्ने पुरुषवादी सोच बाँकी नै छ तर हामी आफैमा पनि माथि जान नचाहने बानी छ,’उनले भनिन्,‘कोष व्यवस्थापनमा महिलाले आफूलाई अब्बल सावित गरेका छन् । अन्य क्षेत्रमा पनि महिलाले अवसर पाए धेरै गर्न सक्छन् ।’
महिला उद्यमीहरुलाई हौसला दिन आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशिलता विकासका निम्ति चाहिने आवश्यक तालिम र बजारीकरणमा संघले सघाउने बताए ।