नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको मिनिअक्सन सकिएको छ।
अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए। पहिलो चरणमा बोली नलगाइएका ११ खेलाडी भने ‘विस लिस्ट’बाट टोलीहरूमा भित्रिए।
यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन्।
अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ थियो। ‘बी’को न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ तथा ‘सी’ श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ मूल्य थियो।
यसअघि टोलीहरूले पहिलो सिजन खेलेका खेलाडीमध्ये न्यूनतम ६ र अधिकतम ७ खेलाडी रिटेन गरेका थिए। जसमा ५१ खेलाडीको रिटेन भएको थियो। यससँगै आठ टोलीमा ८८ नेपाली खेलाडी आबद्ध भएका छन्।
प्रत्येक टोलीमा ११-११ जना नेपाली खेलाडी भएसँगै अब टोलीहरूले कम्तिमा चार जना विदेशी खेलाडी भित्र्याउनेछन्।
अघिल्लो सिजनमा कमजोर प्रदर्शन गरेको पोखरा एभेन्जर्सले पनि मिनी अक्सनबाट ११ जना जुटाइसकेको छ ।
जसअनुसार टिममा अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप क्षेत्री समेटिएका छन् ।
गण्डकीका कुमाललाई अबको आइपीएलमा पोखराले ‘विशेष’ ठानेको छ । अन्य खेलाडी अघिल्लै सिजनको रहने एभेन्जर्सले जनाएको छ ।
एभेन्जर्सले कुशल भुर्तेलको कप्तानीमा प्रतियोगिता खेल्ने छ । टिमको खेलाडी सार्वजनिक गर्दै एभेन्जर्सले ट्रफी जित्न तयार रहेको सन्देश दिएपनि समर्थकले मिश्रित प्रतिक्रिया दिएका छन् ।
समर्थक लक्ष्मण सेन भन्छन् ‘यसपटक पनि पार लाग्ला जस्तो देखिएन ।’ त्यस्तै, प्रबिन पुन मगरले ‘सबैभन्दा पोखराको टिम कमजोर देखियो, अब बिदेशी खेलाडी ल्याउनु प¥यो है !’
अधिकांशले पोखरा एभेन्जर्सलाई मध्यक्रममा ब्याटरको आवश्यकता भएको भन्दै बलिङ्तर्फ विदेशी खेलाडी भित्र्याउन सुझाव दिएका छन् ।
अब प्रत्येक टिमले कम्तीमा ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ ।
