विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो
शब्दकोशमा कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गर्दै आएको जातिलाई आदिवासी भनी उल्लेख गरिएको पाइन्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा ‘आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय हो’ भनी उल्लेख गरिएको छ ।
दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षणरसंवर्द्धन गर्नु होे ।
संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसङ्ख्या ५० करोड पुगेको छ, जुन विश्व जनसङ्ख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५ हजार भन्दा बढी समुदायका यी जनजातिहरू भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतको धनी समुदाय मानिन्छन् ।
३१ औं आदिवासी दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘विश्व आदिवासी दिवसको अवसरमा आफ्नो भाषा, संस्कृति र अधिकारको संरक्षणका लागि निरन्तर अडिग रहनुभएका सम्पूर्णमा हार्दिक सम्मान प्रकट गर्दछु’ व्यक्त गरेका छन् ।
‘विविधतामा एकताको शक्ति हाम्रो साझा सम्पत्ति होस्, र यो दिवसले समानता, सम्मान र सहअस्तित्वको सुगन्ध हाम्रो समाजभर फैलाओस् भन्ने कामना सहित गण्डकी प्रदेश, नेपाल र विश्वभर रहनुभएका सबै आदिवासी हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्री पाण्डेको शुभकामनामा उल्लेख छ ।
यसबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आजै परेको जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना दिए पनि आदिवासी दिवसप्रति मौन रहेका छन् ।