‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले सचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ ।
अस्पतालमा कार्यरत नर्सहरुले शिशुको स्वास्थ्य र बृहत्तर हितमा आमाको दूधलाई नै प्राथमिकता दिनुपर्ने सन्देशसहित ¥याली निकालेका छन् ।
¥यालीमा सहभागी नर्सहरुले अस्पताल नजिकका फार्मेसी तथा किराना पसलहरुमा आमाको दुध प्रतिस्थापन गर्ने दूध र दूधजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भन्दै चेतावनीसमेत दिएका छन् ।
नर्सहरुले त्यस्ता पदार्थ बिक्रि वितरण गर्न नपाइने सम्बन्धी सचेतना कार्यक्रम गर्दै शिशुलाई स्तनपान गराउँदा हुने लाभबारे जानकारी दिएका छन् ।
विश्वभर हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म यो सप्ताह मनाइन्छ । स्तनपानलाई शिशु स्वास्थ्य, मातृ स्वास्थ्य र राष्ट्रिय उत्पादकत्वसँग जोड्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाउन थालिएको हो ।
स्तनपान शिशुलाई दिइने पहिलो खोप मानिन्छ । यो कुपोषण र शिशु मृत्युदर रोक्न प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
विभिन्न अध्ययनहरूका अनुसार जन्मपछिको १ घण्टाभित्र स्तनपान गराउँदा नवजात मृत्यु २२ प्रतिशतसम्म घट्छ भने १ दिन ढिला गर्दा मृत्युदर २ दशमलव ४ प्रतिशतले बढ्छ ।
६ महिनासम्म केवल आमाको दूध खुवाइएमा र त्यसपछि उचित आहार दिइएमा २० प्रतिशत बाल मृत्युदर घटाउन सकिने डाक्टरको सुझाव छ ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार बोतलबाट दूध खुवाउनेको सङ्ख्या १३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ । यो नवजात शिशुको स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
स्तनपान नगर्दा बालबालिकामा झाडापखाला, श्वासप्रश्वास र मोटोपनजस्ता समस्या देखा पर्न सक्छ । आमामा स्तन तथा अण्डाशयको क्यान्सर, टाइप टु मधुमेह र ज्यान जानेसम्मको जोखिम बढ्छ ।
प्रत्येक १ चम्चा स्तनदूधमा ३० लाख जीवाणु नष्ट गर्ने कोशिकाहरू हुन्छन् जबकि कृत्रिम फर्मुला दूधमा यस्तो एक पनि नहुने अध्ययनले देखाउँछ ।
आमाको दूध सुरक्षा र विकासका लागि आवश्यक प्राकृतिक तत्त्वहरूले भरिपूर्ण भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।