पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा यात्रुवाहक बस दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार ३ जनाको अवस्था सामान्य छ ।
गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडीको अगाडिको भाग जमिनमा दबेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको र गाडीमा अन्य यात्रु सवार रहे-नरहेकोबारे यकिन भइनसकेको बताइएको छ ।
गोरखाबाट नारायणघाटतर्फ जाँदै गरेको बा २ ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४ बजेतिर ऐनापहरामा दुर्घटना भएको थियो । बस सडकबाट करिब १५ मिटर तल खसेको जानकारी प्राप्त भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।