अबदेखि ब्रोकर कम्पनीमा टीएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आफ्ना सम्पूर्ण कारोबार सदस्य (ब्रोकर)हरूलाई परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नेप्सेको सूचनाअनुसार अबदेखि नयाँ कारोबार खाता खोल्ने नेपाली नागरिकले अनिवार्यरूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बुझाउनुपर्नेछ ।
ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी विवरणहरू विद्युतीय माध्यमबाट प्राप्त गर्ने प्रणाली कार्यान्वयन गर्न धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेले यो कदम चालेको हो ।
परिपत्रमा सम्पूर्ण ब्रोकर कम्पनीहरूलाई आफ्नो ग्राहक पहिचान व्यवस्थापन प्रणाली र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा राष्ट्रिय परिचयपत्र नम्बरलाई अनिवार्य प्रविष्टिको रूपमा व्यवस्था गर्न भनिएको छ ।