फोहोरलाई ‘रि–साइक्लिङ’ र ‘अपसाइक्ल्ङि’मार्फत हरित रोजगारी सिर्जना परियोजनाको प्रचार–प्रसार र जनचेतनामूलक उद्देश्यसहित आगामी साउन १६ र १७ गते पोखरामा दुईदिने ‘आरयू फेस्ट–२०२५’ हुने भएको छ ।
फेस्ट पोखराको फोहोर व्यवस्थापनमा केन्द्रीत हुने जनाइएको छ । कार्यक्रम पोखरा महानगरपालिकाको आयोजनामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक साझेदारीमा सञ्चालन हुने मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार फोहोरलाई स्रोतको रूपमा प्रयोग गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावनाबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
महोत्सव हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा लिइने मेयर आचार्यले बताए । फेस्टमा दिगोपन, नवीनता र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिइने जनाइएको छ ।
पोखरामा आहिले दैनिक १ सय ७६ टन फाहोर उठ्ने गरेको मेयर आचार्यले बताए । उनका अनुसारले यो प्रोजेक्टले नेपाललाई दीर्घकालीन रुपमा स्मार्ट सिटीको परिकल्पना पूरा गर्नेछ ।
फेस्टमा प्रयोगशालागत वस्तुहरूबाट उत्पादित सामग्री र हरित उद्यमशीलताको प्रदर्शन, फोहोर व्यवस्थापनसम्बन्धी समाधान, जलवायु परिवर्तन, नवीकरणीय उर्जा, प्लास्टिकको पुनः प्रयोग, स्मार्ट बिन, जीवनशैली परिवर्तनका उपायलगायतका विषयमा विविध कार्यक्रम समावेश हुने छन् ।
युवालाई रोजगारीका सम्भावना र उद्यमशीलताको दिशामा प्रेरणा दिने उद्देश्यले व्यावसायिक सञ्जाल विस्तारका अवसर पनि फेस्टमार्फत दिइने जनाइएको छ ।
यसका लागि कोइकाले ८.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.२९ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गरेको मेयर आचार्यले बताए ।
पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा स्थानीय सरकारको साथमा युवाको नेतृत्व, उद्यमशीलता र सिर्जनात्मकताको महत्वपूर्ण योगदान हुने मेयर आचार्यको भनाइ थियो ।
फेस्टमा सहभागी हुने विद्यार्थी, उद्यमी, नीति निर्माता र सरोकारवालालाई समर्पित गर्दै पोखरा महानगरपालिकाले सबैलाई आमन्त्रण गरेको छ ।