परराष्ट्रमन्त्री आरजुले गरिन् अंशुभराको ‘बगैंचा’ उद्घाटन

santan ads

परराष्ट्रमन्त्री आरजु राणाले बुधबार अंशुभरा ग्रूपद्वारा सञ्चालित बगैंचा रिसोर्ट एण्ड स्पाको उद्घाटन गरेकी छिन् ।

पोखराको लेकसाइडमा रहेको बगैंचाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री राणाले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्त्वपूर्ण भएको चर्चा गरिन् ।

पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै उनले भरसक देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।

‘अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुसी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ’, उनले भनिन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिसोर्ट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे ।

अंशुभरा ग्रुपका चेयरम्यान एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे ।

उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट सञ्चालक सौगात थापाले बगैंचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । ‘यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ’, उनले भने ।

बगैंचा विचार, विश्राम र पुनर्जागरणको सम्मिश्रण भएको भनाइ उनको छ । आफ्ना बुबा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुभरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यावसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए ।

बगैंचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलरदेखि ३ सय ५० डलरसम्मको कोठाको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइट (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैंचा सुइट) छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ ।

रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेस्टुरेन्ट’ तथा ‘उमामी प्यान–एशियन रेस्टुरेन्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्मबाट ल्याइनेछ ।

Scroll to Top