पोखरामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव कोठामा बन्द गरेर राखेको घटना सार्वजनिक भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठेपानीमा ५८ वर्षीय जंगे सार्कीले आफ्नी ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आइतबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका हुन् ।
साउन ८ गते राति साढे आठ बजे जमुना नेपाली आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
स्थानीयले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेको एसपी ओलीयाले जानकारी दिए । ‘प्रहरीले तत्कालै घटनाको अनुसन्धान सुरु गरी मृतकका श्रीमान् जंगे सार्कीलाई सोही दिन पक्राउ गरेको हो,’ एसपी ओलियाले भने ।
उनका अनुसार घटना साउन ६ गतेको हो । जंगे सार्कीले खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका थिए । सोही क्रममा जग्गा बेच्ने विषयमा श्रीमान-श्रीमतीबीच विवाद चर्कियो ।
विवादकै क्रममा जंगेले जमुनालाई दुई मुक्का प्रहार गरे, जसका कारण उनी भित्तामा ठोक्किदा उनको मृत्यु भयो ।
प्रहरी पुग्दा जमुनाको शव सडिगलेको अवस्थामा फेला परेको एसपी ओलीयाले जानकारी दिए ।
‘पोस्टमार्टम रिपोर्टमा टाउकोमा लागेको गहिरो चोट र रगत जमेको कारण मृत्यु भएको उल्लेख छ’ उनले भने ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका – ५ रिभान स्थायी घर भएका सार्की दम्पती रिठ्ठेपानीको सुकुम्बासी टोलमा बस्दै आएका थिए ।
जंगे सार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।