डाक्टरले पत्ता लगाउन नसकेको समस्या ‘च्याट जीपीटी’ले पत्ता लगाइदिएपछि …

santan ads

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को स्वास्थ्य सेवामा बढ्दो सम्भावना उजागर गर्ने एक घटना सार्वजनिक भएको छ । जहाँ ओपनएआईको च्याटजीपीटीले एक महिलाकी आमाको डेढ वर्षसम्म निको नभएको रहस्यमय रोगको सम्भावित कारण पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको हो ।

डाक्टरहरूले पत्ता लगाउन नसकेको समस्यालाई एआईले समाधान गरेपछि एआईको प्रभावकारितामाथि व्यापक छलफल सुरु भएको छ । ‘श्रेया’ नामकी एक प्रयोगकर्ताले एक्समा आफ्नी आमाको कथा शेयर गरेकी छन् । उनकी आमालाई डेढ वर्षदेखि निरन्तर खोकी लागिरहेको थियो ।

उनीहरूले सहरभित्र र बाहिरका शीर्ष डाक्टरहरूलाई देखाए, ठुला अस्पतालहरूमा गए, होमियोप्याथी, आयुर्वेद र एलोप्याथी लगायतका विभिन्न उपचार विधिहरू अपनाए । तर कुनै पनि उपाय काम लागेन । अवस्था यति बिग्रियो कि आन्तरिक रक्तस्राव समेत सुरु भयो । ‘यदि यो अवस्था ६ महिना अझै जारी रह्यो भने यो घातक हुन सक्छ’ भनेर डाक्टरहरूले चेतावनी दिएका थिए ।

जवाफका लागि हताश भएर श्रेयाले च्याटजीपीटीको सहारा लिइन् र आफ्नी आमाका लक्षणहरू विस्तृत रूपमा वर्णन गरिन् । एआई च्याटबटले सम्भावित कारणहरूको सूची दियो । जसमध्ये रक्तचापको औषधिको साइड इफेक्ट प्रमुख रूपमा देखा पर्‍यो । जब श्रेयाले आफ्नी आमा ब्लड प्रेसरको औषधि सेवन गरीरहेको पुष्टि गरिन्, च्याटजीपीटीले एउटा महत्वपूर्ण प्रश्न सोध्यो ‘उनी यो तत्त्व भएको बीपीको औषधि लिइरहेकी छिन् ?’

श्रेयाले आश्चर्यचकित भइन् । साच्चिकै सो औषधीमा च्याटजीपीटीले इङ्गित गरेकै तत्व थियो । श्रेयाले डाक्टरसँग यस विषयमा परामर्श गरिन् । डाक्टरले उक्त औषधिको साइड इफेक्टका कारण उनकी आमालाई खोकी तथा आन्तरिक रक्तस्राव सिर्जना भएको कुरा पुष्टि गरे र औषधि परिवर्तन गरे ।

‘अन्ततः अहिले उहाँलाई निको भइरहेको छ,’ श्रेयाले लेखेकी छिन्, ‘अतिशयोक्ति होइन, तर च्याटजीपीटीले मेरी आमाको ज्यान बचायो ।’ उनले यो ‘महान कुरा’ सिर्जना गरेकोमा ओपनएआई र सह-संस्थापक साम अल्टम्यानलाई पनि धन्यवाद दिइन् ।

यो घटनाले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘तपाईँकी आमालाई राम्रो भयो, यसमा मलाई धेरै खुसी लागेको छ । तर इमानदारीपूर्वक भन्नु पर्दा यसले चिकित्सा हेरचाहमा ठुलो समस्या पनि देखाउँछ ।

डाक्टरहरूले उनको बीपी औषधि खोकीको कारण हो भनेर जाँच गर्नु पर्थ्यो, यो एक परिचित साइड इफेक्ट हो । च्याटजीपीटीले यो पत्ता लगाउनु अचम्म होइन, तर यति धेरै डाक्टरहरूले आधारभूत कुरा पनि छुटाइदिनु अचम्मको कुरा हो ।’

Scroll to Top