एकाबिहानै वाक्युद्धमा उत्रिए बराल, भनेः -‘केसीको धम्कीले उसैलाई हानी हुन्छ’

santan ads

कास्की कांग्रेसमा यतिबेला पूर्व र वर्तमान सभापति ‘इगो’को लडाईमा होमिएका छन् । वर्तमान सभापति किशोरदत्त बराल निर्वाचनमा हारेको पीडाबाट मर्माहत छन् भने पूर्वसभापति कृष्ण केसी सोही प्रकरणमा पार्टीबाट कारवाहीमा परेपछि झनै उग्र बनेका छन् ।

कारवाहीमा परेपछि केसीले आगामी चुनामा रोकेर देखाउन चेतावनीपूर्ण अभिव्यक्ति दिएपछि बराल एकाबिहानै सामाजिक सञ्जालमार्फत केसीविरुद्ध उत्रिएका छन् ।
बरालले पार्टीका पूर्वसभापति केसीले संघीय निर्वाचनको टिकट नपाए ‘विद्रोह गर्ने र देखाइदिने’ धम्की दिएका कारण आफू अन्तर्घातको उजुरी गर्न बाध्य भएको खुलासा गरेका छन्। केसीलाई पार्टीको अनुशासन समितिले कारबाही गरेपछि सतहमा आएको विवादबारे बरालले एक लामो खुला पत्र लेख्दै कारबाहीको पृष्ठभूमि र पार्टीभित्रको अनुशासनहीनताको प्रवृत्तिबारे गम्भीर प्रश्न उठाएका छन्।

बरालले विसं २०७९ को संघीय निर्वाचनमा टिकट वितरण हुनुअघि काठमाडौंको लाजिम्पाटस्थित एक होटेलमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै पत्रको सुरुवात गरेका छन्। सो भेटमा आफूले केसीलाई संघमा टिकट नपाए प्रदेशमा चुनाव लड्न तयार रहन आग्रह गर्दा केसी अत्यन्तै आक्रोशित भएको बरालको दाबी छ। बरालले पत्रमा केसीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘म प्रदेशमा लड्दिन, यदि संघमा मलाई टिकट दिएनन् र अरु कसैलाई दिए भने देखाइदिन्छु। कम्युनिस्टबाट आएको हुँ, विद्रोह गर्न जानेको छु।’

केसीको यस्तो अभिव्यक्तिले आफूलाई स्तब्ध बनाएको र पार्टीको सभापतिको रूपमा आफ्नो स्वाभिमानमा चोट पुगेको बरालले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मैले देखाइदिन्छु भनेर थर्काएपछि कोही पनि प्रतिस्पर्धामा आउँदैनन् र टिकट स्वतः प्राप्त हुन्छ भन्ने तपाईंको यो गलत मनोविज्ञानको प्रयोग अरु केही प्रतिस्पर्धी साथीहरूलाई समेत गर्नु भएको जानकारी जब मलाई प्राप्त भयो, त्यसपछि मलाई यो घटनाले थप गम्भीर र जिम्मेवार बनायो।’ यही घटनापछि यस्तो प्रवृत्ति भएको व्यक्तिलाई टिकट दिन नहुने निष्कर्षका साथ आफूले टिकट प्राप्तिका लागि क्रियाशीलता बढाएको उनको भनाइ छ।

बरालले केसी र उनको परिवारसँग आफ्नो व्यक्तिगत, शैक्षिक र पारिवारिक सम्बन्ध गहिरो रहेको स्वीकार गर्दै पत्र लेखेका छन्। तर, व्यक्तिगत सम्बन्धका आधारमा पार्टीको हितविपरीतका गतिविधिलाई नजरअन्दाज गर्न नसकिने उनले स्पष्ट पारेका छन्। ‘व्यक्तिगत नाफा नोक्सानको हिसाब किताब मसँग मात्रै जोडिन्छ। राजनीतिक नाफा नोक्सानको हिसाब किताब पूरा पार्टी, समाज र समग्र भविष्यसँग जोडिन्छ,’ उनले लेखेका छन्, ‘यदि यसो ९व्यक्तिगत तहमा मिलाएको० गरिएको भए यो एउटा राजनीतिक कमजोरी र नेपाली कांग्रेसप्रतिको बेइमानी हुने थियो।’

उनले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने, अन्तर्घात गर्ने र संस्थाको हितविपरीत काम गर्नेहरूलाई विभिन्न बहानामा माफी दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको तर्क गरेका छन्। यसलाई उनले मनोवैज्ञानिक रूपमा ‘मोरल कम्प्रोमाइज सिन्ड्रोम’को संज्ञा दिएका छन्, जहाँ अल्पकालीन सहुलियतका लागि दीर्घकालीन सिद्धान्तको बलिदान दिइन्छ। बरालले भनेका छन्, ‘गलत गरेकालाई कारबाही नगर्दा पार्टी बलियो हुन्छ भन्ने नैतिक सम्झौताको लक्षण अपनाइयो र पार्टीलाई झनै कमजोर बनाउने राजमार्ग निर्माण गरियो।’

बरालले निर्वाचनमा आफ्नो पराजय केसीको अन्तर्घातका कारणले मात्रै नभएको तर उनको असहयोग र अन्तर्घात भने प्रमाणित भएको दाबी गरेका छन्। उनले आफू र प्रदेश क्षेत्र नं १ (ख) का उम्मेदवार दीपक गुरुङ (माइला)ले प्रमाणसहित अनुशासन समितिमा संयुक्त निवेदन दिएको र त्यसैको आधारमा कारबाही प्रक्रिया अघि बढेको बताएका छन्। उनले मनोनयन दर्तापछि केसीलाई पटक-पटक भेटेर राजनीतिक भविष्यबारे छलफल गरे पनि केसीले ‘मुखले एउटा र व्यवहारले अर्को’ काम गरेको आरोप लगाएका छन्।

पत्रको अन्त्यमा बरालले अब यी सबै घटना बिर्सन चाहेको उल्लेख गर्दै केसीलाई पनि विगत भुलेर अघि बढ्न आग्रह गरेका छन्। उनले ‘कारबाही फिर्ता भएन भने ८४ मा देखाइदिन्छु’ जस्ता धम्कीपूर्ण अभिव्यक्तिले केसीलाई नै हानि पुर्‍याउने भन्दै गुटको राजनीति र भक्तहरूको चलाखीपूर्ण भूमिकाबाट सचेत रहन सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘घृणा, आक्रोश र प्रतिशोधभन्दा पनि आफूलाई बलियो बनाउने भनेको आफ्नो आचरण, व्यवहार, कर्म र आफ्नो क्षमता अभिवृद्धिले हो।’

Scroll to Top