लेकसाइडमा मध्यरात केन्याली पर्यटकलाई कसले लुट्यो ?

santan ads

केन्याली युट्युबर केन माचारिया पोखराको लेकसाइडमा आइतबार राति लुटिएका छन् ।

रातको समयमा गन्तव्यतर्फ लागिरहेकाबेला केनलाई साढे ११ बजेतिर एक समूहले छुरा देखाएर १६ सय यूरो लुटेको बताइन्छ । युट्युबर रहेका केनको साथबाट लुटिएको रकम करिब साढे २ लाख रुपैयाँ हुन आउछ ।

उनी लुटिएपछि केही समयपश्चात् भेला भएका स्थानीयले उनलाई पर्यटक प्रहरीसमक्ष उजुरी दिन सुझाउछन् ।

केनले करिब १२ बजेतिर पर्यटक प्रहरीलाई जानकारी दिएपछि उक्त स्थानमा प्रहरी पुग्दा त्यहाँ कोहिपनि भेटिँदैनन् ।

यस घटनालाई पर्यटकसँग सम्बन्धित पेजमार्फत भोलिपल्ट सार्वजनिक गरिएको हो । घटना सार्वजनिक भएपछि प्रहरीको एक्सनबारे बुझ्न खोज्दा प्रहरी स्वयं अलमलमा परेको छ ।

केनले लुटिएको स्थान एक चर्चित क्लबको गल्ली हो । त्यहाँ त्यस्तो लुटिने शंका गर्न सकिन्न भने उनले बताएको समयमा त्यहाँ भीडभाड नै रहेको जिप्रका कास्की बताउँछ ।

पीडित भनिएका पर्यटकले दिएको जानकारी र घटनास्थलको अध्ययन गर्दा कास्की प्रहरी केन लुटिएकै हुन् भन्नेमा विश्वस्त नभएको कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको भनाई छ ।

‘केन लुटिएका हैनन्, उनले ढाँटेका हुन् भनेर भन्न त मिल्दैन, तर आश्वस्त भइहाल्ने आधार पनि छैन’ डिएसपी बस्नेतले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा केनको आफ्नै समूह छ, जसले मिलेर युट्युबमा कार्यक्रम उत्पादन गर्छन् । उनको पछिल्लो युट्युब भिडिओमा आफु पोखराको लेकसाइडमा लुटिएको विषय राखिएको भएपनि केही समयपछि हटाइएको छ ।

हटाइएको उक्त भिडिओमा केनले आफु फिलिपिन्स जाने तयारीमा रहेपनि लुटिएपछि घर फर्कन चाहेको तर पैसाको अभावमा अलपत्र परेको भनेका थिए ।

यता, केनले भिडिओ तत्काल हटाउनु र अहिलेको समयमा कुनैपनि पर्यटकले १६–१७ सय यूरो बोकेर हिँड्ने अपत्यारिलो विषय भएको कास्की प्रहरीको ठम्याई छ ।

एकातिर केनले प्रहरीमा ढिलो गरी सूचना दिनु, आफैले राखेको भिडिओ सामग्री हटाउने र उनले लुटिएको रकमको मात्रा फरक फरक बताउनुले कतै नयाँ भिडिओ सामग्रीलाई ‘कन्टेन्ट’ बनाउन खोजेका त हैनन् भन्ने प्रहरीको बुझाई छ ।

‘अहिले हामीले केनलाई पनि भेट्टाएका छैनौ, उनी पनि हामीसँग फलोअप र सम्पर्कमा छैनन्’ बस्नेतले भने ‘यद्यपि, प्रहरीले यस विषयमा थप अनुसन्धान र रेकी गरिरहेको छ ।’

Scroll to Top