चीन–पोखरा उडानको पहल गर्न मुमलाई व्यवसायीको सुझाव

santan ads

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यही साउन ६ गते चीनको तिब्बततर्फ प्रस्थान गर्दैछन् ।

उनको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड दिएका छन् ।

उनीहरूले मुख्यमन्त्रीको भ्रमणका क्रममा मुस्ताङको कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा ल्याउन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधा उडान सुरु गर्न विशेष पहल गर्न आग्रह गरेका छन् ।

बाढीका कारण केरुङजस्ता नाकाहरू बारम्बार अवरुद्ध भइरहेको अवस्थामा पोखराबाट सबैभन्दा नजिकको चिनियाँ नाका कोरलालाई विकल्पको रूपमा खोल्नुपर्ने माग उठेको हो ।

\पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै विगतमा जस्तो सुरक्षा चुनौती नरहेको र पूर्वाधारमा पनि सुधार भइरहेकाले नाका बन्द गरिरहनुको औचित्य नभएको बताएको छ ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरालाई ट्रान्जिट बनाएर मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटन मार्ग खोल्न सके गण्डकी प्रदेशको पर्यटनमा कायापलट हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा देखिएको ढिलाइ चिर्न उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताए ।

चीन सरकारले मानसरोवर नजिकैको अलीस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिरहेको सन्दर्भमा पोखराबाट त्यहाँ सीधा उडानका लागि पहल गर्न उनीहरूको सुझाव छ । व्यवसायीहरूले चीनका प्रमुख शहरहरूबाट पोखरामा सीधा हवाई सम्पर्क जोड्न सके यसले प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए ।

विगतका भ्रमणहरूले ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै व्यवसायीहरूले यसपटकको भ्रमणलाई परिणाममुखी बनाउन आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले चीनले घोषणा गरेको ‘भिजिट नेपाल इयर २०२५ इन चाइना’ लाई सफल बनाउन पनि यो भ्रमण कोशेढुंगा साबित हुने बताए, तर यसका लागि चिनियाँ सहरहरूमा प्रभावकारी बजारीकरण गर्नुपर्नेमा उनको जोड थियो ।

व्यवसायीहरूको सुझाव र मागप्रति सकारात्मक देखिएका मुख्यमन्त्री पाण्डेले आफ्नो भ्रमण मुख्य चारवटा एजेन्डामा केन्द्रित रहने जानकारी दिएका छन् । ‘केरुङ र तातोपानी नाकामा समस्या देखिएपछि चीनसँगको हाम्रो पहुँच नै खुम्चिएको छ,’ उनले भने, ‘त्यसैले कोरला नाका खोल्नु हाम्रो बाध्यता र आवश्यकता दुवै हो ।’

Scroll to Top