नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले पोखराका विद्यालय तथा क्याम्पसहरूमा लिइने भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष विपिन पौडेलले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीबाट आएका गुनासोहरूलाई सम्बोधन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखासँग माग गरेका हुन् ।
आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए शैक्षिक आन्दोलन गर्ने उनको चेतावनी छ ।
पोखराका सम्पूर्ण शिक्षण संस्थाले कुल विद्यार्थी संख्याको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क लिन नपाइने र अतिरिक्त क्रियाकलापका नाममा कुनै पनि शुल्क उठाउन नहुने माग नेविसंघको छ ।
यस्तै, सामुदायिक विद्यालयहरूमा संविधानप्रदत्त निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्दै कक्षा १२ सम्म लिइँदै आएको भर्ना तथा मासिक शुल्क पूर्णरूपमा बन्द गरिनुपर्ने विज्ञप्तिमा छ ।