बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनसिपअन्तर्गत आज (मंगलवार) भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको छ ।
नेपालले पहिलो हाफमै ५–० को स्पष्ट अग्रता बनाएको थियो ।
वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरिन ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपालको ३ खेलमा ६ अंक भएको छ । तेस्रो स्थानमा रहेको भुटानको ३ अंक छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।