नेपालले बंगलादेशमा आजदेखि सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
च्याम्पियनसिपमा आज(शुक्रबार) नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो ।
पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा
बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा नेपालले फेरि तीन गोल थप्दा भुटान एक गोलमा सिमित भयो ।
सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् ।
यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले नै दायाँ भागबाट दिएको क्रसममा पूर्णियाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।
त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्याइन् । वर्षाले नै बक्स बाहिर दिएको पासमा सेनुले विपक्षी खेलाडीलाई छलाउँदै बल बक्स भित्र पुर्याएर व्यक्तिगत दोस्रो गोल गरिन् ।
दोस्रो हाफमा भुटानले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । तर नेपालले अझै गोल थप्यो ।
पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो । पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा पुर्याइन् ।
त्यस बाहेक नेपालले खेलमा गोल गर्ने अन्य राम्रा अवसरहरु गुमाउँदा गोल अन्तर फराकिलो पार्न सकेन । सुक्रिया मिया र वर्षा ओलीले पनि गोल गर्ने राम्रो अवसरमा चुकेका थिए ।
जितपछि नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ । आजै भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ । नेपाल र बंगलादेशबीच आइतबार खेल हुनेछ ।