मुटुमा पुगेको छर्रा चुम्बकले निकालियो, ७० शल्यक्रिया सफल

santan ads

सर्खी मेल्निक आफ्नो खल्तीबाट कागजमा सफा गरी बेरेर राखिएको खिया परेको धारिलो टुक्रा निकाल्छन्।

त्यही टुक्रा देखाउँदै उनी भन्छन्, ‘यसले मेरो फोक्सो र मुटु छेडेर मिर्गौलासम्म चोट पुर्‍यायो।’ रुसी ड्रोनबाट प्रहार गरिएको अस्त्रको छर्रामा अझै पनि रगतका टाटा देखिन्छन्। पूर्वी युक्रेनमा लड्दै गरेका उनलाई त्यो छर्राले मुटुसम्मै छेडेको थियो।

‘सुरुमा त मैले त्यो के हो भन्नेसम्म पनि थाहा पाइनँ। सुरक्षा कवचका कारण श्वास फेर्न अप्ठ्यारो भएजस्तो मात्रै लाग्यो,’ उनी भन्छन्। ‘पछि मेरो मुटुबाट छर्रा निकाल्नु पर्‍यो।’

युक्रेन युद्धमा ड्रोनको बढ्दो प्रयोगसँगै यस्ता चोटपटकहरू बढ्दो क्रममा छन्। ड्रोनले प्रायजसो टुक्रिने अस्त्र वा सामग्री बोक्ने गर्छन् जसले छर्राबाट हुनेजस्ता जटिल चोटपटक निम्त्याउँछन्।

युक्रेनी सैनिक स्वास्थ्यकर्मीहरूका अनुसार युद्ध मैदानमा ८० प्रतिशत आघात निम्त्याउने चोटपटक छर्राका कारण हुने गर्छ।

यदि उपचार नगरिएको भए सर्खीको चोट घातक हुन सक्थ्यो।

‘त्यो टुक्रा ब्लेड जत्तिकै धारिलो थियो। डाक्टरहरूले ठूलो टुक्रा भए पनि म भाग्यले बाँचेको बताएका थिए,’ उनी सम्झन्छन्। तर उनी भाग्यले मात्रै बाँचेका चाहिँ होइनन्। उनलाई बचाउने नयाँ चिकित्सकीय प्रविधि पनि हो। त्यो हो चुम्बकीय प्रविधि।

यसरी भयो उपचार

मुटु सम्बन्धी शल्य चिकित्सक सर्खी माक्साइमन्कोले घाइते भएका सर्खीको धड्किरहेको मुटुमा अड्किएको टुक्रा पातलो चुम्बकीय उपकरणको सहयोगमा बाहिर निकालिँदै गरेको दृश्य देखाए।

‘मुटुमा ठूलो चिरा बनाउनै पर्दैन,’डा माक्साइमन्को भन्छन्। ‘सानो चिरा बनाएर चुम्बक भित्र छिराए पछि त्यसले नै छर्रालाई बाहिर तान्छ।’

उक्त उपकरणको प्रयोग गरेर डा माक्साइमन्कोको टोलीले एक वर्षभित्र ७० वटा मुटुको सफल शल्यक्रिया गरेको छ। यसले युक्रेनमा अग्रपङ्क्तिको उपचारमा ठूलो परिवर्तन ल्याएको छ।

युद्ध मोर्चामा काम गरिरहेका चिकित्सकहरूले छर्रा निकाल्नका लागि छिटो, सुरक्षित र न्यून क्षति पुर्‍याउने प्रविधिकोको आवश्यकता औँल्याएपछि यस्ता उपकरणको विकास गरिएको थियो।

कुनै समय कानुन व्यवसायीको रूपमा काम गर्ने ओलेख विकोभले यसको विकासमा काम गरेका थिए। उनले सन् २०१४ यता स्वयंसेवकको रूपमा युक्रेनी सैनिकलाई सहयोग गरिरहेका छन्। उनले युद्धमोर्चाको अग्रपङ्क्तिमा काम गरिरहेका चिकित्सकहरूसँग भेट गरेपछि यो उपकरण निर्माण भएको थियो।

यो अवधारणा नयाँ चाहिँ होइन। सन् १८५० को दशकमा भएको क्राइमिया युद्धका क्रममा पनि घाउबाट धातु निकाल्न चुम्बक प्रयोग भएका थिए।

ओलेखको टोलीले यसलाई आधुनिकीकरण गर्‍यो। उनीहरूले पेटको शल्यक्रियाका लागि सजिला उपकरण बनाए, काम सहज बनाउन माइक्रो(एक्स्ट्रक्टरहरू र हाड जोर्नीहरूका लागि थप बलिया उपकरणहरू निर्माण गरेका छन्।

शल्यक्रियाहरू थप सटिक र छरितो भएका छन्। चुम्बकलाई घाउ बाहिर यताउता चलाएर टुक्रा पहिचान गरिन्छ। शल्य चिकित्सकले त्यहाँ एउटा सानो चिरा पार्छन् र उक्त टुक्रालाई शरीरबाट बाहिर निकालिन्छ।

एउटा डट पेन आकारको सानो उपकरण हातमा लिएर ओलेखले त्यसबाट एउटा हथौडा उठाउँछन्। जसले उक्त चुम्बकको शक्ति देखाउँछ।

उनको कामलाई युद्ध क्षेत्रमा काम गरिरहेका अनुभवी चिकित्सक डेभिड नट सहितका स्वास्थ्यकर्मीहरूले प्रशंसा गरेका छन्।

‘युद्धमा गैर सैनिक जीवनमा परिकल्पना पनि नगरिएका घटनाक्रम विकास हुन्छन्,’ उनी भन्छन्।

युद्धको बदलिँदो शैलीका कारण धातुका टुक्राहरूबाट हुने चोटपटक बढ्दो छ। शरीरमा घुसेका यस्ता कुरा भेट्टाउन लामो समय लाग्ने भएका कारण त्यस्ता उपकरणहरूले उपचार पद्धतिमा कायापलट गर्न सक्छन्।

घाइतेको शरीरमा छर्रा खोज्नु परालको थुप्रोमा सियो खोज्नु जस्तै जटिल रहेको उनी बताउँछन्। एक त त्यो सधैँ सफल नहुन सक्छ अर्को त्यसमा धेरै समय खर्च हुँदा अरू घाइतेको उपचारमा ढिलाइ हुन पुग्छ।

परम्परागत रूपमा छर्रा खोज्नु जोखिमपूर्ण मात्रै नभएर त्यसका लागि ठूलो चिरा बनाउनु पर्ने भएका कारण त्यसले धेरै रगत बग्न सक्छ।

एउटा निश्चित स्थानमा सुरु भएको उपकरण अहिले युक्रेनभरि प्रयोग भइरहेको छ। करिब ३००० थान यस्ता उपकरणहरू युक्रेनभरिका विभिन्न अस्पताल र अग्र मोर्चामा काम गर्ने चिकित्सकहरूलाई वितरण गरिएका छन्।

अग्र मोर्चामा काम गरिरहेका चिकित्सक एन्ड्रि अल्बान आफू पनि यही उपकरणमा भर पर्ने गरेको बताउँछन्।

उनी अधिकांश समय गोलाबारी भइरहने स्थानमा काम गर्छन्।

‘मेरो काम जीवन बचाउने हो। घाउमा पट्टी लगाउने र सैनिकहरूको उद्धार गर्ने हो,’ उनी भन्छन्।

म्याग्नेटिक एक्सट्र्याक्टर भनिने यस्तो उपकरणको औपचारिक प्रमाणीकरण चाहिँ भएको छैन।

युक्रेनको स्वास्थ्य मन्त्रालयले चिकित्सकीय उपकरणहरूले पूर्ण प्राविधिक नियमन पूरा गरेको हुनुपर्ने जनाएको छ। यद्यपि असाधारण अवस्थामा, सैनिक शासन लागु भएको समयमा वा सङ्कटकालको अवस्थामा प्रमाणीकरण नपाएका उपकरणहरूले पनि सैन्य र सुरक्षा निकायको आवश्यकता पूरा गर्न मान्यता पाउँछन्।

‘यी उपकरणहरूले जीवन बचाउँछन्। यदि कसैले मेरो काम अपराध हो भन्ने ठान्छ भने म यसको जिम्मेवारी लिन तयार छु। म जेल जान पनि तयार छु। यसको प्रयोग गर्ने सबै चिकित्सकहरूलाई पनि सँगै जेल हाल्नु पर्छ,’ ठट्टा गर्दै उनले भने।

डेभिट नट पनि यस्तो अवस्थामा प्रमाणीकरण मुख्य प्राथमिकता हुन नहुने बताउँछन्। उनका अनुसार यस्ता उपकरणहरू गाजा जस्ता युद्ध भूमिमा पनि प्रयोग हुन सक्छन्।

‘युद्धमा ज्यान जोगाउन महत्त्वपूर्ण के हो त्यो गर्नुपर्छ,’ उनी भन्छन्।

यता लभिभमा सर्खीकी श्रीमती युलिया आफ्ना श्रीमानलाई चोटबाट बचाउने उपकरण प्रति आभारी छन्।

‘जसले यो बनायो उनीहरूको म प्रशंसा गर्न चाहन्छु,’ आँसु चुहाउँदै उनले भनिन्। ‘उनीहरूलाई धन्यवाद। मेरा श्रीमान् बाँच्न सफल भए।’

बिबिसीको सहयोगमा

Scroll to Top