एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले सानदार जित निकालेको छ ।
नेपालले आज(मंगलबार) जापानलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेलमा विजयी हुँदै नेपालले चार अङ्क जोडेको छ । नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
जापानले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायो ।
८१ रनको लक्ष्य नेपालले नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्ध जैसीले अविजित ३३ रन बनाए । बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट लिए ।
जापानका लागि ब्याटिङ गर्नेक्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि शुभम् खनालले सर्वाधिक पाँच विकेट लिए । त्यसैगरी, अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एकरएक विकेट हात पारे ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।