महानगरको बजेटमा स्वास्थ्यः मृगौला र क्यान्सर बिरामीलाई मासिक खर्च, स्वयंसेविकालाई एकमुष्ठ ५० हजार

santan ads

पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ लाई ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

महानगरद्वारा आयोजित १७ औं नगरसभामार्फत उपमेयर मञ्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हन् ।

हाल सार्वजनिक बजेट अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष महानगरले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

यसपटकको बजेटमा स्वास्थ्यतर्फ महानगरले केही महत्वकांक्षी योजना समेटेको छ । जसमध्ये केही कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ योजनामा बजेट विनियोजन गरिएको छ ।

महानगरले संघीय सरकारको अनुदानमा मृगौला प्रत्यायोजन गरेका, डायलाईसिस गराइराखेका, क्यान्सर रोगि र मेरुदण्डको पक्षघात भएका बिरामीहरुलाई मासिक औषधि उपचार खर्च बापत रु. २ करोड ६८ लाख बिनियोजन गरेको छ ।

महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट नियमित उपलब्ध हुदै आएको ५८ प्रकारका औषधि तथा उपकरणहरू नियमित उपलब्ध गराइने बजेटमा उल्लेख छ । यसका लागि शशर्त तथा तथा आन्तरिक गरि रु. १ करोड ६ लाख ९३ हजार बजेट छुट्याइएको छ ।

आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति तथा स्वास्थ्य सस्थाहरूको व्यवस्थित संचालनका लागि सशर्त तथा आन्तरिक स्रोतबाट रु. १४ करोड ५० लाख विनियोजन गरेको छ ।

यसैगरी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गर्दै आएका सेवा तथा सुबिधाहरूलाई निरन्तरता दिइएको छ । ६० बर्ष पुगेर अनिवार्य अवकाश हुने स्वयमसेविका प्रोत्साहनस्वरुप महानगरले ५० हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराउन रु. १३ लाख बिनियोजन गरेको छ ।

त्यस्तै, महिलाहरूमा हुने प्रमुख स्वास्थ्य समस्याहरू जस्तै पाठेघरको मुखको क्यान्सर, गर्भवती तथा सुत्केरी अवस्थामा हुने जोखिम न्यूनिकरणको लागि गर्भावस्थामा हुने मेडिकल जाँचको लागि १४ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

स्वास्थ्य संस्थाहरुको भवनको मर्मत संहार र स्वास्थ्य सेवा प्रवाहको रेकडिंग प्रणाली सबै संस्थामा डिजिटलाईजेसन गर्न ८० लाख रुपैयाँ विनियोजन गरिएको छ भने डेंगी, कोभिडलगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद व्यवस्थापन तथा प्रतिकार्यका लागि बजेट व्यवस्था गरिएको छ ।

साथै, महानगरको एक मात्र आधारभूत अस्पताल शिशुवा अस्पतालमा बिशेषज्ञ सेवा विस्तार गर्न हालै स्वीकृत संगठन तथा व्यवस्थापन सर्भे बमोजिमका सेवा तथा जनशक्ति थप गरि गुणस्तरिय र बिशेषज्ञ सेवा उपलब्ध गराउन रु.१ करोड २० लाख बजेट बिनियोजन गरिएको छ ।

यससँगै महानगरको बजेट स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र सेवामुखी बनाउन विविध योजना र बजेटको व्यवस्था गरिएको छ ।

Scroll to Top