नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष तथा वागमती प्रदेशका पूर्व मूख्यमन्त्री राजेन्द्र पाण्डेले विगतका प्रधानमन्त्री र अर्थमन्त्रीलाई अब डिल्लीबजार कारागारमा भेट्न पाइने सम्भावना बढेको बताएका छन् ।
नेकपा एस समिर्थत समाजवादी प्रेस संगठनद्वारा पोखरामा आयोजित भेटघातमा पाण्डेले नीतिगत निर्णयउपर छानबीन गर्ने हो भने कोही चोखो नरहने उल्लेख गरे ।
‘मन्त्री परिषद्को बैठकले गरेका सबै नीतिगत निर्णयको छानवीन गर्दा सबै प्रधानमन्त्री र अर्थमन्त्री जेल पुग्नेछन्’ पाण्डेले भने ‘सबैलाई डिल्लीबजार कारागारमा भेटघाट गर्न पाइन्छ ।’
हाल चर्चामा रहेका वाइडबडी, गिरिबन्धु टी इस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा छानबिन चलाए सबै प्रधानमन्त्रीहरुको जेल जाने पक्कापक्की रहेको उनको भनाई छ । उनले व्यंग्य गर्दै भने ‘डिल्लीबजारमा पाउरोटी लिएरै भेट्ने अवसर पाइन्छ ।’
उनले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको दाबी गरे । उस्तै खालको दुई मुद्दामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर छ ।
ललिता निवास जग्गा प्रकरणमा समेत फसाउने प्रयास भएको दाबी गर्दै उनले ललिता निवासको निणर्य नीतिगतमा पर्ने र पतञ्जली नपर्ने कुरा पूर्वाग्रहीपूर्ण भएको बताए । अहिलेसम्म मन्त्री परिषद्को नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र नपर्ने उल्लेख गरे ।
उनले मन्त्री परिषद्को नीतिगत निर्णयको विषयलाई लिएर अख्तियार विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था समितिमा थन्किएको बताए । समितिका सदस्य समेत रहेका पाण्डेले सत्तारुढ दलले मन्त्रीपरिषद्को नीतिगत निर्णयलाई अख्तियारले हेर्न नपाउने बनाउन विधेयकलाई समितिमा थन्काएको आरोप लगाए ।
पाण्डेले नीतिगत निर्णय अख्तियारले हेर्न पाउने हो भने ठुला ठुला गेम चेञ्चर परियोजनामा सरकारले हात हाल्न नसक्ने तर्क गरे । फरक प्रसंगमा नेता पाण्डेले भिजिट भिषा प्रकरणमा २०६४ सालदेखिका सबै गृहमन्त्री चोखो नभएको दाबी गरे । उनले भिजिट भिषा प्रकरणमा मानव तस्करी भएको आरोप लगाए ।