‘तेस्रो पुरुष टि–२० क्रिकेट’को उपाधी स्याङ्जाले उचाल्यो

santan ads

पोखरा । गण्डकी प्रदेश तेस्रो पुरुष टि -२० क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जाले उचालेको छ । 

पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा स्याङ्जाले  नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । 

स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधी रक्षा गरेको हो । 

यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए । 

स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए ।

यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । 

अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए ।

नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए । 

उपाधी जिते संगै स्याङजाले नगद १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । 

प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे । उनले ट्रफी संगै नगद ४  हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २/२ हजार प्राप्त गरे ।

जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो । 

Scroll to Top