पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को फाइनल असार ७ गते हुने भएको छ । फाइनलमा १८ जनाले प्रतिस्पर्धा गर्ने आज (सोमबार) पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतिस्पर्धीहरु गण्डकी प्रदेशका ९ जिल्लामा अडिसन गरि छानिएका हुन ।
कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् ।
म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् ।
विश्व सङ्गीत दिवसको दिन असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।
नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले एउटा निःशुल्क अडियो रेकर्डको अवसर सहित क्रमशः नगद ५१ हजार १ सय ११,३१ हजार १ सय ११ र २१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यस्तै सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् ।
प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्नेछ ।
पोखरा उद्योग वाणिज्य संघको हलमा हुने आयोजकले जनाएको छ ।