दिपक के श्रेष्ठः मोरङको सुन्दरहरैचा–७ निवासी लिम्बु दम्पत्तिको शुक्रबार राति पौने ११ बजे माछा मार्ने क्रममा ज्यान गएको छ ।
लिम्बु दम्पत्ति माछा मार्न भनेर राति नजिकैको मदेली खोला पुगेका थिए ।
खोलाको पुलमुनि पुगेर उनीहरुले नजिकै रहेको बिजुलीको पोलमा हुकमार्फत करेन्ट जोड्ने क्रममा विद्युत् प्रवाह हुँदा दुबैको घटनास्थलमै मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुँडालले नयाँलिपिलाई जानकारी दिइन् ।
‘लिम्बु दम्पत्ति करेन्टबाट माछा मार्न भनेर राति खोला गएका रहेछन्, करेन्ट लागेरै उनीहरुको घटनास्थलमै मृत्यु भएछ’ सूचना अधिकारीसमेत रहेकी चुडालले भनिन् ‘हामीले राति नै शव उठाएर ल्यायौं ।’
मृत्यु हुनेमा ५८ वर्षीय पुर्णबहादुर र ५२ वर्षीया फुलमाया लिम्बु रहेको चुँडालले जानकारी दिइन् ।
मुलुकको नदीनालामा करेन्टमार्फत माछा मार्न सरकारले प्रतिबन्ध लगाएको जानकारी दिँदै डिएसपी चुँडालले उनीहरुको शव परिवार र आफन्तलाई आज जिम्मा लगाएको बताएकी छिन् ।