पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पस (पिएमसी)ले ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
०४४ सालमा स्थापना भएको क्याम्पसले विभिन्न आरोह–अवरोह झेल्दै केही वर्ष यता आफुलाई निरन्तर अब्बल सावित गर्दै आएको छ ।
पोखरा बहुमुखी त्यही क्याम्पस हो, जो टुँडिखेलस्थि राष्ट्रिय माविको भवनबाट शैक्षिक यात्राको सुरुवात गरिएको थियो । त्यसपश्चात् नयाँबजारस्थित महेन्द्र माविमा लामो समय क्याम्पस रह्यो ।
पोखराकै पुरानो क्याम्पस भएपनि पिएमसीले करिब ४ वर्ष अघि आफ्नै भवन निर्माण गरेको हो । यसैबीच क्यूएए हासिल गरेर पिएमसीले अर्काे सफलता हात पारेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । पोखरा महानगरपालिकाले क्याम्पसलाई जग्गा उपलब्ध गराएको हो ।
चन्दादाताहरुबाट रकम संकलन गरी भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।
सोही अवसरमा क्युएए प्रमाणपत्रले पोखरा बहुमुखी क्याम्पसलाई शैक्षिक, प्रशासनिक, भौतिक र सामाजिक सबै पक्षमा थप सुदृढ, पारदर्शी र उत्तरदायी बन्ने बाटोमा प्रेरित गरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीको धारणा छ ।
क्युएएबारे जानकारी दिँदै प्राध्यापक महेन्द्र रिमालले पिएमसीका विद्यार्थीको सर्टिफिकेटलाई अब संसारभर मान्यता दिइने जनाए ।
हाल क्याम्पसमा स्नातक तहमा मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ ।
करिब ५ सय विद्यार्थी अध्ययनरत क्याम्पसले बिबिए, बिआइएम, बिआइटीलगायत संकाय थप्ने क्याम्पस प्रमुख पराजुलीको भनाई छ ।